सर्लाहीको सेखौनामा बर्थिङ सेन्टर स्थापना

376

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिका–१, सेखौनामा बर्थिङ सेन्टर स्थापना भएपछि स्थानीय वाषिन्दा खुशी भएका छन् ।

गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवतीलाई सुत्केरी गराउन गोडैता नगरपालिकाको सिसौटिया स्वास्थ्य चौकी वा सदरमुकाम मलङ्गवाका अस्पताल लानु पर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीय हर्षित भएका हुन् । धनकौल गाउँपालिका, हेल्प इन्टरनेशनल र आड्रा नेपालको १९ लाख ९५ हजार रुपियाँ लागतमा निर्माण गरिएको बर्थिङ सेन्टरको सोमवार उद्घाटन गरिएको छ । बर्थिङ सेन्टरको उद्घाटन गर्दै धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले ग्रामीण भेगमा बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गर्ने सङ्घसंस्थाप्रति धन्यवाद ज्ञापन गरे । उनले प्रसब बेथामा परेका गर्भवतीलाई अन्यत्र लाँदा जोखिम भइरहेको अवस्थामा गाउँमै बर्थिङ सेन्टर खुलेपछि प्रसुति गराउन सहज हुने विश्वास व्यक्त गरे ।

बर्थिङ सेन्टर सञ्चालनका लागि तीन जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष साहले बताए । बर्थिङ सेन्टर उद्घाटनकै अवसरमा गर्भवतीलाई प्रसुति गराउने विभिन्न ४५ किसिमका उपकरण समेत प्रदान गरिएको बर्थिङ सेन्टर स्थापनामा सहजिकरण गरेको संस्था बागमती सेवा समाज नेपालका निरज भण्डारीले जानकारी दिए । सेखौनामा यसअघि पनि बर्थिङ सेन्टर सञ्चालन भएपनि पूर्वाधारको कमी र स्वास्थ्यकर्मीको अभावले लामो समयदेखि सेवा ठप्प भएको थियो । भण्डारीका अनुसार मंगलवार विष्णु गाउँपालिकाको सीमरामा पनि निर्मित बर्थिङ सेन्टरको उद्घाटन गरिँदै छ ।