छठ पुजा गरिएका जलाशय सरसफाई नहुँदा कुरुप

132

सर्लाही–छठ पर्वपछि सरसफाई नगरिँदा सर्लाहीका विभिन्न जलाशय कुरुप देखिएका छन् ।

छठ पूजा अघि चिटिक्क पारिएका जिल्लाको विभिन्न स्थानका सार्वजनिक पोखरी, नहरलगायतका जलाशय पूजा सम्पन्न भएपछि सरसफाई नगरिँदा फोहोरमैलाले भरिएको हो । छठ घाट निर्माण गर्ने बेला स्थानीय तह, सुरक्षाकर्मी, विभिन्न सामाजिक सङ्घसंस्थाले सरसफाईमा चासो दिए पनि पूजा सकिएपछि भने कसैले पनि वास्ता गरेका छैनन् । नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले पूजा अघि जस्तै पूजा सकिएपछि पनि जलाशयको सरसफाईमा सबै पक्ष जुट्नु पर्ने बताए ।

उनका अनुसार जिल्ला सदरमुकाम मलंगवाकै विभिन्न पोखरी श्रद्धालुले पूजा सकेपछि जथाभावी फालेका पूजा सामग्रीले कुरुप देखिएका छन् । यस्तै जिल्लाको लालबन्दी, बागमती, चन्द्रनगर, हरिपुर, गोडैता, बलरालगायत २० वटै स्थानीय तहका विभिन्न स्थानमा रहेका जलाशय पनि कुरुप देखिएका स्थानीय वाषिन्दाले बताएका छन् ।